सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

7 Shares

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले स्थानीयवासी तथा जनप्रतिनिधिसँग छलफल गरेको छ ।

बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा आयोजित छलफल कार्यक्रममा सीमा क्षेत्रको सुरक्षा अवस्था, देखिएका चुनौती र तिनको समाधानका उपायबारे स्थानीय तथा जनप्रतिनिधिसँग सुझाव सङ्कलन गरिएको हो ।

छलफलका क्रममा सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार, चोरी–पैठारी, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार तथा राजस्व चुहावट नियन्त्रणका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो । सहभागीहरूले सीमा क्षेत्रमा देखिएका सुरक्षा चुनौतीबारे आफ्ना धारणा राख्दै नियन्त्रणका लागि आवश्यक उपायबारे सुझाव दिएका थिए ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा मजबुत बनाउन र आपराधिक गतिविधि नियन्त्रण गर्न स्थानीय नागरिकको सहयोग तथा सहकार्य अपरिहार्य रहेको बताए ।

उनका अनुसार सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायको सक्रियतासँगै स्थानीय समुदायको सूचना, सहयोग र सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

कार्यक्रममा बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल तथा ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवीले पनि सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा धारणा राखेका थिए ।

त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयवासीबीच प्रभावकारी समन्वय तथा सहकार्य हुन सके मात्रै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा अपेक्षित नतिजा हासिल गर्न सकिने धारणा राखे ।

नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय बढाउने उद्देश्यले छलफल आयोजना गरिएको हो । सीमा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बनाउन स्थानीयको सहभागिता तथा निरन्तर सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।