पाँचधारेमा ११ करोडको कृषि उपज केन्द्र निर्माण गर्न बोलपत्र आह्वान

7 Shares

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोड रुपैयाँको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । केन्द्र निर्माणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।

भोजपुर र खोटाङका किसानले उत्पादन गरेका कृषि उपजको सङ्कलन, भण्डारण तथा बजारीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रका लागि कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ । बाँकी पाँच प्रतिशत रकम र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।

आधुनिक भण्डारण र चिस्यान व्यवस्थापन सुविधा रहने

निर्माण हुने कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल तथा वर्गीकरण र प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन् ।

यी संरचना निर्माण भएपछि तरकारी, फलफूललगायत स्थानीय कृषि उत्पादनलाई सुरक्षित रूपमा भण्डारण गर्न र आवश्यकताअनुसार बजारसम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ ।

हाल उचित बजार तथा भण्डारणको अभावमा किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने र कतिपय कृषि उपज खेर जाने समस्या रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।

उनका अनुसार केन्द्र निर्माण भएपछि किसानले उत्पादनको उचित मूल्य पाउनुका साथै कृषि व्यवसाय विस्तार गर्न सहयोग पुग्नेछ । भोजपुर र खोटाङका सीमावर्ती क्षेत्रका किसानलाई लक्षित गरी निर्माण गर्न लागिएको केन्द्रले दुवै जिल्लाका कृषि उत्पादनलाई एकीकृत रूपमा सङ्कलन र बिक्री गर्ने आधार तयार गर्नेछ ।

कृषि बजारीकरणसँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा

गाउँपालिका अध्यक्ष बस्नेतले कृषि उपजको व्यवस्थित सङ्कलन र बजारीकरणसँगै स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार केन्द्र निर्माणले कृषि क्षेत्रको विकाससँगै मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राई र वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले पनि केन्द्र निर्माणपछि स्थानीय उत्पादनको बजारीकरण सहज हुने र आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।

करिब ११ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो केन्द्र सञ्चालनमा आएपछि भोजपुर र खोटाङका किसानले उत्पादन गरेको कृषि उपजलाई व्यवस्थित रूपमा बजारसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, भण्डारणको समस्या कम गर्न र स्थानीय कृषि व्यवसायलाई व्यावसायिक बनाउन केन्द्र महत्वपूर्ण पूर्वाधार बन्न सक्ने देखिएको छ ।