काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन माध्यमबाट ‘फेसलेस’ सेवा सुरु गरेको छ । ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले आदिवासी–जनजाति, खस–आर्य तथा दलित समुदायको पहिचान प्रमाणित गर्ने सेवा अनलाइनबाटै उपलब्ध गराउन थालेको हो ।
जिल्लाको विकट भौगोलिक अवस्थाका कारण सामान्य सेवा लिनसमेत सदरमुकाम पुग्नुपर्ने बाध्यता, समय र आर्थिक खर्चलाई मध्यनजर गर्दै यस्तो सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन् ।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालयको इमेल ठेगानामा पठाउन सक्नेछन् । कार्यालयमा निवेदन प्राप्त भएपछि एक घण्टाभित्र आवश्यक सिफारिसपत्र सम्बन्धित व्यक्ति वा वडा कार्यालयको इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।
यस सेवाबाट विशेषगरी जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ । यसअघि सामान्य सिफारिस तथा प्रमाणित सेवा लिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता रहेकामा अब आवश्यक कागजात अनलाइनबाट पठाएर घरबाटै सेवा लिन सकिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार यो सेवा लिन सेवाग्राहीको नेपाली नागरिकता प्रमाणपत्रमा राष्ट्रिय दलित आयोग, आदिवासी–जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन, २०५८ वा राष्ट्रिय समावेशी आयोगले सूचीकृत गरेका खस–आर्य समुदायमध्ये कुनै एकको थर स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्नेछ ।
अनलाइन आवेदन गर्दा सेवाग्राहीले सम्बन्धित वडा कार्यालयबाट स्पष्ट व्यहोरासहित प्रमाणित गरिएको सिफारिसपत्र, आफ्नो निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको रङ्गीन स्क्यान प्रति, सम्पर्क नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा संलग्न गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आवश्यक कागजातसहित इमेलमार्फत आवेदन प्राप्त भएपछि कार्यालयले प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्ति वा वडा कार्यालयलाई सिफारिसपत्र पठाउनेछ ।
सरकारी सेवालाई प्रविधिमैत्री, पारदर्शी र नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले सुरु गरिएको फेसलेस सेवाले बैतडीका नागरिकलाई प्रशासनिक कामका लागि अनावश्यक यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने विश्वास गरिएको छ । साथै, यसले समय र खर्च बचत गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया