काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आइतबार देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ ।
वि.सं. १७७९ साल पुस २७ गते जन्मिनुभएका पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइने गरिएको छ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहको स्मृतिमा यस वर्ष पनि प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको उहाँको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम रहेको छ ।
पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार चियापान समारोहको आयोजना गरेको छ । उक्त समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरिएको राप्रपाले जनाएको छ । यसैगरी शाहको जन्मस्थान गोरखामा पनि हरेक वर्षझैँ विशेष कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइँदैछ ।
नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गर्ने परम्परालाई निरन्तरता दिएको छ ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न सामाजिक, आर्थिक तथा भौगोलिक चुनौतीका बाबजुद जनताको सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबीसे राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार तयार गर्नुभएको थियो । उहाँको १८३१ सालमा ५२ वर्षको उमेरमा निधन भएको थियो । शाहले २० वर्षको उमेरमा गद्दीआरोहण गरी आन्तरिक तथा बाह्य शक्तिलाई पराजित गर्दै एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवको स्मरण गराउँदै विविधताबीचको एकतालाई अझ सुदृढ बनाउने प्रेरणा प्रदान गर्दछ । साथै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिनुका साथै युवापुस्तामा मातृभूमिप्रतिको सेवा, समर्पण र जिम्मेवारीको भावना जागृत गराउने यस दिवसको विशेष महत्व रहेको छ ।
शाहको एकीकरण अभियानकै कारण नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता अक्षुण्ण रहँदै विश्वका पुराना राष्ट्रहरूमध्ये नेपाल एक रहन सफल भएको इतिहासकारहरू बताउँछन् । उहाँका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्ने दिव्योपदेश आज पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका सन्दर्भमा उत्तिकै सान्दर्भिक मानिन्छ । साथै भौगोलिक अवस्थालाई दृष्टिगत गर्दै नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’को संज्ञा दिनुभएको अभिव्यक्ति पनि आजसम्म चर्चित छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उपराष्ट्रपति, सभामुख, विभिन्न राजनीतिक दलका नेता तथा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया