कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

9 Shares

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बुधबार बस्ने बैठकमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यसूचीमा पार्टीको संगठनात्मक अवस्था, नागरिक सरोकारका विषय र समसामयिक राजनीतिक परिस्थितिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखिएको छ।

महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीअनुसार संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियानका विषयमा छलफल हुनेछ। पार्टीको संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित अभियानका विषयमा बैठकमा छलफल हुन लागेको हो।

त्यस्तै, पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएका विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनःनिर्माणका विषय पनि बैठकको कार्यसूचीमा समेटिएका छन्। विशेषगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछि प्रभावित समुदायको अवस्था, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ।

बैठकमा विस्थापित सुकुमवासीको व्यवस्थापनबारे पनि छलफल हुनेछ। नागरिकको आवास र व्यवस्थापनसँग जोडिएको यो विषयलाई पार्टीले नागरिक सरोकारका महत्वपूर्ण मुद्दाका रूपमा कार्यसूचीमा समावेश गरेको छ।

यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची तय गरिएको छ। स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीको तयारी, संगठनात्मक जिम्मेवारी र आगामी राजनीतिक रणनीतिबारे प्रारम्भिक धारणा निर्माण गर्ने विषयमा छलफल हुन सक्नेछ।

कार्यवाहक मुख्यसचिव दुलालले बैठकमा विविध विषयमा समेत छलफल हुने जानकारी दिएका छन्। बैठकमा प्रस्तुत कार्यसूचीका विभिन्न विषयमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्नेछन्।

यसअघि बुधबारको बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गरेका थिए। पार्टीभित्रको वर्तमान अवस्था, राजनीतिक घटनाक्रम र समसामयिक विषयमा सभापति थापाको सम्बोधनपछि महामन्त्री पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संगठनात्मक जिम्मेवारीदेखि विपद् प्रभावित क्षेत्रको पुनःनिर्माण, सुकुमवासी व्यवस्थापन र स्थानीय निर्वाचनसम्मका विषय समेटिनुले पार्टीले आन्तरिक संगठनसँगै नागरिक सरोकारका मुद्दालाई पनि छलफलको केन्द्रमा राखेको देखिन्छ। बुधबार बिहान ११ बजे पुनः बस्ने बैठकले यी विषयमा थप छलफल गर्नेछ।