कर्फ्यू खुकुलो भएसँगै चहलपहल बढ्न थाल्यो, बैङ्क र कार्यालयहरु पनि क्रमशः खुल्दै

231 Shares

काठमाण्डौ । कर्फ्यू खुकुलो भएसँगै चहलपहल बढ्न थालेको छ । 

नेपाली सेनाले कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाएपछि सडकमा चहलपहल बढ्न थालेको हो । पसलहरुमा सरसामान किन्नेको घुईंचो लाग्न थालेको छ ।  

नागरिकलाई अत्यावश्यक कामको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

६ बजेपछि कर्फ्यू खुकुलो भएसँगै सडकमा चहलपहल बढेको हो । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि निषेधाज्ञा लाग्नेछ ।

बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म फेरि कर्फ्यू लागू हुने नेपाली सेनाले जनाएको छ । सोमवार र मङ्कलवारको बन्दका कारण बन्द भएका बैङ्क तथा कार्यालयहरु पनि आजदेखि क्रमशः खुल्ने भएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा र कर्फ्यू खुकुलो भएसँगै कार्यालयहरु खुल्न लागेका हुन् । 

कर्फ्यू र निषेधाज्ञाको बेलामा पनि विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

हिजो अरू कार्यालयसँगै देशभरका सबै बैङ्क पूर्ण रूपमा बन्द भए । 

सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै विस्तारै वातावरण शान्त हुँदै गएपछि आजदेखि बैंकहरु क्रमशः खुल्ने नेपाल बैङ्कर्स सङ्घले जनाएको छ । 


मङ्गलवार देशभर भएको प्रदर्शन तोडफोड र आगजनीमा केही बैङ्कका कार्यालयहरुमा पनि क्षति भएको र धेरै एटीएमहरु तोडफोड भए पनि बैङ्कको नगद सुरक्षित रहेको सङ्घले जनाएको छ ।