वीरगंज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण फैलियो

397 Shares

काठमाडौं । वीरगंज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

गएको शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिएका छन् । 

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा.उदयनारायण सिंहले आइतवारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएका जानकारी दिएका छन् । 

प्रवक्ता सिंहले हैजाको महामारीका साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरेका छन् । 

वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने प्रवक्ता सिंहले जानकारी दिएका छन् । 

आज ८ जना बिरामी बिहानीको समयमा थपिएकोमा त्यसको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।