पनाैती । जिल्ला कृषि विकास कार्यालय काभ्रेको आयोजना तथा मध्यमार्ग कृषि सहकारी संस्था पनौतीको समन्वय एवं बाली संरक्षण प्रयोगशाला हरिहरभवन र पनौती नगरपालिकाको प्राविधिक सहयोगमा साेमबार एक दिने बाली उपचार शिविर सम्पन्न भएकाे छ ।
शिविरमा बाली संरक्षण प्रयोगशालाका बाली संरक्षण अधिकृत सरिता सापकोटाले तरकारी खेती गरिएको फिल्डमा रासायनिक विषादीको मात्रा बढी भएको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी विषादी छरिएको चर्चा गर्दै विषादी सिफारिस गरिएको मात्राभन्दा बढी प्रयोग भएकाले कृषकहरूलाई अनुशिक्षण तालिमहरुको आवश्यकता रहेको बताउनु भयो।
उहाँले जैविक तथा प्रांगारिक विषादीहरु प्रयोग गर्ने खालका कार्यक्रमहरु स्थानीय पालिकाले कृषकमाझ पुर्याउनु पर्ने आवश्यकता रहेको संकेत गर्दै बालीमा देखिएका समस्याहरु औंल्याउँदै नमूना परिक्षण गर्न ल्याइएका गोलभेंडाका बाेटहरूमा ढुसीजन्य बोट ओइल्याउने, डाँठ कुहिने, अगाैरे र पछाैरे डढुवा रोग पहिचान भएको बताउनुभयो।
रोग किराको बारेमा बाली संरक्षण अधिकृत सापकोटाले गोलभेंडा खेतीमा जोताहा पुतली, डाँठ कुहिने रोगले ग्रसित भएको पाइएकाले कृषकहरूले बाली लगाउन तयार पारिएको जमिनको माटाे जाँच, खाद्यतत्व कमी भएकाले जिंक, क्याल्सियम र बोरनको भरपुर प्रयोग गर्न कृषकहरुलाई सिफारिस गर्नुभएको थियो।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका बाली संरक्षण अधिकृत रमा कार्कीले कृषकहरूले बनाएको टनेलहरु होचो भएकाले गोलभेंडाको बोटहरु ओइल्याउने गरेको र पूर्णरूपमा फूल फूल्न नसकेको जानकारी दिँदा कृषकहरूले एग्राेभेटले हचुवाको भरमा पठाएको विषादी छरेकाले कृषकको लागतमा वृद्धि भएको तर्क राख्दै तरकारी खेतीमा अधिकांश महिला कृषकहरु बृद्धि भएकोले स्वास्थ्यको बढी सावधानी अपनाउन कृषकहरुलाई सल्लाह दिनुभएको थियो।
उहाँले अधिकांश विषादीहरु प्रयोग गर्दा हरियो लेवल भएका विषादी प्रयोग गर्न कृषकहरूलाई सिफारिस गर्नुभएको थियो । शिविरमा ल्याइएका गोलभेंडा खेतीमा ओइल्याउने रोग, खाद्यतत्वमा कमी, किरा, डढुवा रोग देखिएको थियो । मकैको बाेट परिक्षण गर्दा गभारो किरा, अमेरिकन फौजी किरा र सुन्तलाको बोट परिक्षण गर्दा बगैंचा व्यवस्थापन, सिंचाई र बोडो मिक्सचरको स्प्रे एवं लेप लगाइका क्रियाकलाप हुनुपर्ने सुझाव दिइएको थियो।
शिविरमा पनौती नगरपालिका कृषि शाखाका प्राविधिक सहायक सम्झना राई, बाली संरक्षण प्रयोगशालाका प्राविधिक सहायक सुमला राई र मध्यमार्ग कृषि सहकारी संस्था लिका अध्यक्ष एवं मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के.सीको सक्रिय सहभागिता रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया