राष्ट्रिय सभाको शुन्य समयः बाढीपीडितको उद्धार र विकास निर्माणमा सांसदहरूको चासो

11 Shares

काठमाडाैं । राष्ट्रिय सभाको शुक्रवारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले देशभर अविरल वर्षाका कारण क्षतिग्रस्त सडक, पुल र जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

सांसदहरूले दशैँ र तिहारजस्तो महान् चाडबाडको मुखमा यातायात सेवा अवरुद्ध हुँदा जनताले भोग्नुपरेको सास्तीबारे सरकारको जवाफ माग गरेका हुन् । शुक्रवारको बैठकमा सांसदहरूले भोटेकोशी र महाकाली नदीमा आएको बाढीले पारेको असरका साथै देशका विभिन्न भागमा सडक पूर्वाधार बिग्रिएको विषयलाई प्रमुखताका साथ उठाएका छन् । सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशीको बाढीले बगाएका कन्टेनर र मुस्ताङको कोरला नाकामा अड्किएका मालवाहक सवारी साधनबारे सरकारको ध्यानाकर्षण गराउँदै बाटो मर्मत गरी व्यापारीहरूलाई राहत दिन माग गर्नुभयो । त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनीमा झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा ५० हजारभन्दा बढी नागरिक आवतजावतबाट वञ्चित भएको भन्दै सांसद जगतबहादुर पार्कीले तत्काल पुनर्निर्माण गर्न माग गर्नुभयो । 

पूर्वाधारका विषयमा बोल्दै सांसद नरबहादुर विष्टले सात वर्षदेखि बड्डीचौर–खोलीघाँटे सडक अलपत्र परेको भन्दै ठेकेदारको लापरबाही र चाडपर्वमा सडक सञ्जाल अवरुद्ध हुनुको कारणबारे सरकारसँग स्पष्ट जवाफ माग गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोरका पुल र किसानको धानबालीमा पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई क्षतिपूर्ति प्याकेजको व्यवस्था गर्न आग्रह गर्नुभयो । 

बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सांसद मदनकुमारी साहले आपत्ति जनाउनु भयो । उहाँले भारतको भूमि नेपालमा पनि मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र साहले दिनुभएको भनाइ असत्य र राष्ट्रिय स्वाभिमानको विपक्षमा रहेको भन्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । सांसद सुरेशकुमार आले मगरले राष्ट्रिय सभाको कार्यसूचीमा नेपाल संवत् लेख्दा तिथि र महिनासमेत समावेश गर्नुपर्ने माग गर्नुभयो । उहाँले समेत चाडबाडलाई मध्यनजर गर्दै भत्किएका सडकहरू द्रुत गतिमा मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।