कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जित समस्यालाई न्युनिकरण गर्न स्थानीय स्तरबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले वन्यजन्तुको आक्रमणबाट हुने क्षतिबापत प्रदान गरिने राहत रकममा गरिएको उल्लेख्य वृद्धिको चर्चा गर्दै यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनुभएको हो ।
प्रवक्ता डा. ढकालकाअनुसार वि.सं. २०६७ सालदेखि वन्यजन्तुबाट हुने क्षतिका लागि राहत दिने प्रक्रियाको औपचारिक शुरुवात गरिएको हो । मानव अधिकार र नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखी शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रारम्भमा सातवटा वन्यजन्तुलाई समेटिएको थियो । हाल यसको दायरा विस्तार भई १७ वटा वन्यजन्तु पुगेको छ । यद्यपि बाँदरबाट हुने क्षतिलाई भने अझै राहत सूचीमा समावेश गरिएको छैन।
पछिल्लो समय मौरी र सर्पका कारण हुने क्षतिलाई पनि राहतको दायरामा ल्याउने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु राहतसम्बन्धी कानुनलाई यति छोटो समयमा परिमार्जन गरी गतिशीलता प्रदान गर्ने मुलुकहरूमा नेपाल अग्रपंक्तिमा पर्ने उहाँको दाबी छ । बैठकमा डा. ढकालले वन्यजन्तुको स्वभाव अनप्रेडिक्टेबल (अकल्पनीय) हुने भएकाले यसको समाधान पनि सोही प्रकृतिले खोजिनुपर्ने सुझाव दिनुभयो ।
नीतिगत सुधारका बावजुद राहत वितरणको झन्झटिलो प्रक्रिया र बाँदरको समस्या अझै चुनौतीका रूपमा रहेको उहाँले स्वीकार गर्नुभयो । यस्ता समस्यालाई क्रमिक रूपमा समाधान गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै उहाँले मानव–वन्यजन्तु सह–अस्तित्वका लागि बीमा (इन्स्योरेन्स) कार्यक्रमलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रतिवेदनहरूमा बीमाका विषयमा पर्याप्त चर्चा नभएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यसलाई थप स्पष्ट र प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सुझाव दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया