ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादन गर्न सांसद खनालको आग्रह
19
Shares
काठमाडौं । केपी खनाल ले विद्युत् प्रयोगमार्फत ग्रीन हाइड्रोजन प्रविधिबाट मल उत्पादनतर्फ सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा धारणा राख्दै उनले किसानहरू मल माग्न सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
‘विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने कुरा गर्नुपर्छ । आज माटोमा खेलेर हाम्रो भोक मेटाइरहेका नागरिकहरूले मलको माग गर्दै सिंहदरबार आउनुपर्ने आवश्यकता छैन,’ सांसद खनालले भने ।
उनले अहिले किसानको पक्षमा बोल्ने सरकार आएको उल्लेख गर्दै कृषि मन्त्रालयले दक्षताका साथ काम गर्नुपर्ने धारणा राखे ।
इजरायल को उदाहरण दिँदै खनालले नेपालमा कृषि उत्पादनको ठूलो सम्भावना रहेको बताए ।
‘बालुवा मात्रै भएको इजरायलले सुन फलाउन सक्छ भने हामी पहाड, हिमाल र तराई भएको देशका नागरिक हौं, हामीले के फलाउन सक्दैनौं ? त्यसकारण यसतर्फ लागौं,’ उनले भने ।
सांसद खनालले नेपाल कृषिप्रधान देश भए पनि किसानहरूले मल र बीउका लागि राज्यसँग हात फैलाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको टिप्पणी गरे ।
‘नेपाल कृषिप्रधान देश हो । तर यही कृषिप्रधान देशका ती हातहरू, जसले माटोको छाती चिरेर देशको भोक मेटाउँछन्, आज मल र बीउका लागि राज्यसँग भिख मागिरहेका छन्,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया