कैलालीको गौरीगंगामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

10 Shares

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–६ चरीडाँडा निवासी करिब ३८/४० वर्षीय कृष्ण चौधरी शुक्रबार बिहान सामुदायिक वनमा च्याउ टिप्न जानुभएको थियो। च्याउ टिप्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर पश्चिम–दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वन क्षेत्रमा बाघको गतिविधि देखिएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन र एक्लै वन क्षेत्रमा नजान प्रहरीले आग्रह गरेको छ।