भाइटीकाको उत्तम साइत सार्वजनिक, ११ बजेर ३९ मिनेटमा शुभ साइत

39 Shares

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । 

कात्तिक ६ गते बिहीवार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए ।

कात्तिक ६ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा. देवमणि भट्टराईले जानकारी दिए ।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिवारदेखि शुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरू गरिन्छ । कात्तिक २ गते आइतवार काग तिहार परेको छ ।

कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । कात्तिक ३ गते सोमवार दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।

औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधवार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ ।