भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण छ : गृहमन्त्री

39 Shares


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताउका हुन् । २०७२ सालको भूकम्प र त्यसपछिको बाढीपहिरोले विपद् पूर्वतयारी र जोखिम न्युनिकरणको महत्व वोध गराएको उनले बताए ।

भौगोलिक रुपमा नेपाल सुन्दर भएपनि जोखिमपूर्ण रहेको उनको भनाई छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खा लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्हरुको उच्च जोखिम रहेको उनले बताए ।

विपद्लाई प्राकृतिक मात्र नभई सामाजिक संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए ।

संविधान, राष्ट्रिय नीति तथा कानूनहरुले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनसम्बन्धी कार्यहरु सबैको समन्वय, सहकार्य र सहभागितामा सम्पादन हुने व्यवस्था गरेको उनले जानकारी दिए ।

केन्ददेखि स्थानीय तहसम्म विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा विभिन्न संयन्त्रहरु क्रियाशिल रहेको उनको भनाई छ । उनले बाढी तथा डुवानजस्ता जोखिमहरुको पूर्व जानकारीका लागि अर्ली वार्निङ सिस्टमको विस्तार गरिएको पनि जानकारी दिए । 

उनले समुदायको अग्रसरताविना विपद् न्युनिकरण सम्वभ नभएको बताउँनु हुँदै विद्यालयस्तरदेखि स्थानीय तहसम्म सचेतना तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

विपद् जोखिम न्युनिकरण सरकारको मात्रै नभएर सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी भएको उनको भनाई छ ।