काठमाडौं । नेपाल–चीन उत्तरी कोरलानाकालाई व्यवस्थित र प्रभावकारी व्यापारिक नाकाका रूपमा विकास गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत आवश्यक भौतिक पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन । व्यापारिक गतिविधि र राजस्व सङ्कलन बढ्दै गए पनि भन्सार, अध्यागमन, क्वारेन्टाइन, सुक्खा बन्दरगाह तथा एकीकृत सुरक्षा पोस्टलगायतका संरचना निर्माणमा ढिलाइ भएको हो ।
विसं २०७९ फागुनमा सरकारले कोरलानाका क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि डिपिआर सर्भे गरेको थियो । त्यसअघि नै नाकाको नेपालतर्फ भन्सारलगायतका संरचना निर्माण गर्न करिब एक हजार रोपनी जग्गा नेपाल सरकारका नाममा प्राप्ति गरिएको थियो ।
चीनसँगको व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले गरिएको सर्भे दुई महिनासम्म सञ्चालन भएको थियो । सो क्रममा प्रस्तावित पूर्वाधार निर्माणस्थलको भौगर्भिक अवस्था तथा माटो परीक्षणसमेत गरिएको थियो । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिको योजनाअनुसार भन्सारसहित आवश्यक संरचना निर्माणका लागि डिपिआर तयार गरिएको थियो ।
सितारा इन्टुसीप–फुलराइट जेभीले एक करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरी डिपिआर सर्भे सम्पन्न गरेको थियो । प्रतिवेदन सरकारलाई बुझाइएको लामो समय बितिसक्दासमेत निर्माण कार्य अघि नबढ्नु दुःखद् भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए ।
उनका अनुसार चीनसँग सीमा जोडिएका नेपालका उत्तरी नाकामध्ये कोरलानाका महत्वपूर्ण वैकल्पिक व्यापारिक नाकाका रूपमा स्थापित भइसकेको छ । तर, आवश्यक भौतिक पूर्वाधार नहुँदा निकासी तथा पैठारी व्यापारको व्यवस्थापन र यसलाई व्यवस्थित पारवहन नाकाका रूपमा विकास गर्न समस्या भइरहेको छ ।
व्यापारिक गतिविधि बढ्दै, पूर्वाधार अभावले व्यवस्थापनमा समस्या
नेपाल–चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको तीन वर्ष भइसकेको छ भने वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको पनि दुई वर्ष बितिसकेको छ । पछिल्लो समय यस नाकाबाट हुने व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको छ ।
गत वर्ष कोरलानाकाबाट छ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको पहिलो चार महिनामै १२ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ । पछिल्लो समय नाकाबाट दैनिक ६० देखि ७० वटासम्म कन्टेनर र करिब १०० वटा विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् ।
तर, व्यापारिक गतिविधि बढ्दै जाँदा त्यसअनुसारका पूर्वाधार नहुँदा नाकाको सञ्चालन, सवारी व्यवस्थापन र पार्किङमा समस्या देखिन थालेको छ ।
तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा बन्द रहेको अवस्थामा नेपाल–चीन जोड्ने कोरलानाकामा व्यापारिक चहलपहल थप बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै दैनिक सयौँ कन्टेनर तथा विद्युतीय सवारीसाधन आवतजावत गरिरहेका छन् ।
नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि लोमान्थाङ–४ न्हेचुङस्थित भन्सार यार्डमा कन्टेनर र विद्युतीय सवारीको चाप बढेको छ । पर्याप्त पार्किङस्थल नहुँदा कन्टेनर सडकका तीन लेनसम्म ढाकिने गरी पार्किङ गर्नुपर्ने अवस्था छ । यसले कोरलानाका जाने मुख्य सडकमा यातायात आवागमनसमेत प्रभावित हुने गरेको छ ।
सुक्खा बन्दरगाह नहुँदा कन्टेनर सडकमा अव्यवस्थित रूपमा रोक्नुपर्ने अवस्था रहेको बिवाइडी गाडी आयातकर्ता साइमेक्स इङ्कका प्रतिनिधि धर्मवीर मण्डलले बताए । उनका अनुसार विद्युतीय गाडीसमेत खोलाको किनार तथा भिरको छेउमा असुरक्षित रूपमा राख्नुपर्ने बाध्यता छ ।
नाकामा आवश्यक भौतिक पूर्वाधार र चार्जिङ स्टेसन नहुँदा विद्युतीय सवारीसाधनको व्यवस्थापनमा थप समस्या भइरहेको मण्डलको भनाइ छ ।
मन्त्री र उच्चस्तरीय टोलीको भ्रमण, निर्माणमा ठोस प्रगति भएन
कोरलानाकाको अवलोकनका लागि सङ्घ तथा प्रदेश सरकारका मन्त्री र विभिन्न विशिष्ट व्यक्तिहरू पुग्ने गरेका छन् । तर, पूर्वाधार निर्माणका विषयमा आश्वासन आउने गरे पनि व्यवहारमा ठोस काम अघि बढ्न नसकेको स्थानीय जनप्रतिनिधिको गुनासो छ ।
गण्डकी प्रदेशको आर्थिक गतिविधि र व्यापार विस्तारका लागि महत्वपूर्ण मानिएको यस नाकाको पूर्वाधार निर्माणमा थप ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।
यसै साता कोरलानाकाको अवलोकनमा पुगेको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको टोलीसँग पनि स्थानीय जनप्रतिनिधिले नाकाबाट राजस्व सङ्कलनमा मात्र नभई आवश्यक भौतिक पूर्वाधार निर्माणमा समेत ध्यान दिन आग्रह गरेका थिए ।
समितिका सभापति आशिष गजुरेलसमक्ष उनीहरूले कोरलानाकाको पूर्वाधार निर्माणलाई प्राथमिकता दिन र पहुँचमार्गको सडकलाई जतिसक्दो छिटो सहज बनाउन माग गरेका थिए ।
सरकारी कार्यालयका लागि जग्गा उपलब्ध, भवन निर्माण अधुरै
कोरलानाका क्षेत्रमा मात्र नभई मुस्ताङ भन्सार कार्यालय रहेको लोमान्थाङ–४ न्हेचुङमा पनि सरकारी निकायका लागि विसं २०७५ मै जग्गा उपलब्ध गराइएको थियो ।
कोरलानाकास्थित लोमान्थाङ क्षेत्रमा विभिन्न सरकारी निकायका लागि एक हजार ४३६ रोपनी जग्गा उपलब्ध गराइएको थियो । त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङको थुर्लुङ फाँटमा एक हजार २७१ रोपनी जग्गा उपलब्ध गराइएको थियो ।
न्हेचुङमा भन्सार कार्यालयका लागि १०९ रोपनी, अध्यागमन कार्यालयका लागि १२ रोपनी, नेपाल प्रहरीका लागि १३ रोपनी र सशस्त्र प्रहरीका लागि ३३ रोपनी जग्गा उपलब्ध गराइएको थियो ।
उपलब्ध गराइएको जग्गामध्ये सशस्त्र प्रहरीले आफ्नो भवन निर्माण गरिसकेको छ भने नेपाल प्रहरीले हालै भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । तर, भन्सार र अध्यागमन कार्यालयका भवन भने अझै निर्माण हुन सकेका छैनन् । भन्सार कार्यालयको स्तरोन्नति कार्य भने आंशिक रूपमा क्रमागत रूपमा भइरहेको छ ।
कोरलानाकाबाट व्यापारिक गतिविधि र राजस्व सङ्कलन बढिरहेको अवस्थामा आवश्यक भौतिक संरचना निर्माण हुन नसक्दा नाकाको पूर्ण क्षमतामा उपयोग गर्न कठिनाइ भइरहेको छ । स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले सुक्खा बन्दरगाह, व्यवस्थित पार्किङ, भन्सार, अध्यागमन, सुरक्षा तथा अन्य आवश्यक संरचना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारसँग माग गर्दै आएका छन् ।
डिपिआर तयार भइसकेको, जग्गा उपलब्ध भएको र नाकामा व्यापारिक चापसमेत बढिरहेको अवस्थामा अब निर्माण कार्यलाई थप ढिलाइ नगरी कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया