दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

8 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन् ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेपछि शनिबार साँझ सभापति लामिछाने जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुगेका थिए । अवलोकनका क्रममा उनले खानीको वर्तमान अवस्था, हालसम्म भएका प्राविधिक काम र रोकिएको परीक्षण प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

अवलोकनपछि लामिछानेले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सम्पन्न भए पनि पछिल्लो एक वर्षदेखि परीक्षणको काम रोकिएकोप्रति चिन्ता व्यक्त गरे । परीक्षण प्रक्रिया अघि नबढ्दा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

उनले पहिलोपटक खानी क्षेत्रको स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उत्पादनको आवश्यकता जति महत्वपूर्ण छ, त्यति नै तत्काल महँगा उपकरणको संरक्षण गर्नु पनि आवश्यक रहेको बताए ।

“पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझ्नुपर्छ,” लामिछानेले भने ।

सभापति लामिछानेले लामो समयदेखि रोकिएको ‘वेल टेस्ट’ अर्थात् इनार परीक्षण तथा व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञहरूसँग परामर्श गर्ने प्रतिबद्धता जनाए । प्राविधिक काममा देखिएको अवरोधको कारण पहिचान गरी आवश्यक पहल गरिने उनको भनाइ थियो ।

उनका अनुसार प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको छ । उक्त परिमाणले नेपालको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने भएकाले यो आयोजना कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना बन्न सक्ने उनले उल्लेख गरे ।

नेपाल र चीनबीच भएको समझदारीअनुसार विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता भएपछि ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको हो । लामो समयदेखि सञ्चालनमा रहेको अन्वेषण तथा ड्रिलिङ प्रक्रियालाई अब परीक्षण र उत्पादनको चरणसम्म पुर्‍याउनुपर्ने आवश्यकता रहेको छ ।

लामिछानेले आमनागरिकसँग गरिएको प्रतिबद्धता र मुलुकले चाहेको समृद्धिको आधार यस्तै राष्ट्रिय महत्वका आयोजना भएको बताए ।

“हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” उनले भने, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनेछन् ।”

यसअघि नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सभापति लामिछानेलाई परियोजनाको हालसम्मको प्रगति तथा वर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।

दैलेखको जलजले क्षेत्रमा रहेको पेट्रोलियम तथा मिथेन ग्यास खानीको अन्वेषणपछि परीक्षण र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्न नसकिरहेको अवस्थामा लामिछानेको स्थलगत अवलोकन र उत्खननलाई प्राथमिकता दिने प्रतिबद्धतालाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ ।