कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठले अनियन्त्रित शहरीकरण, नदी अतिक्रमण र प्राकृतिक जलाधारको विनाशले काठमाडौंले भोगिरहेको वातावरणीय संकटबाट पाठ सिक्न देशभरका स्थानीय तहलाई आग्रह गर्नुभएको छ । सोमबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं क्लाइमेट एक्सन विक’लाई सम्बोधन गर्दै उहाँले क्षति भइसकेपछि पछुताउनुभन्दा नदी, पोखरी, खुला क्षेत्र र पानीका मुहान संरक्षणमा समयमै ध्यान दिनुपर्ने बताउनुभयो ।
श्रेष्ठले काठमाडौं महानगरपालिकाले पछिल्लो चार वर्षदेखि ऐतिहासिक ढुंगेधारा (हिटी) पुनर्जीवनका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो । यस्ता परम्परागत संरचनाले वर्षाको पानी संकलन, भूमिगत जलस्रोत पुनर्भरण र शहरी तापक्रम घटाउन सहयोग गर्ने उहाँको भनाइ छ ।
उहाँले शहरी बाढी नियन्त्रण र पूर्वसूचना प्रणाली विकासलाई सरकारले प्राथमिकता दिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागमार्फत स्थानीय तहसँग सहकार्य गरी वर्षा मापन, बाढीको जोखिम पहिचान र पूर्वसूचना प्रणाली विकास गरिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकाका नदी प्रणालीसँग जोडिएका १७ स्थानीय तहसँग समन्वय गरी जोखिमयुक्त नदी क्षेत्र पहिचान गरिने र आगामी मनसुनअघि नै आवश्यक काम सुरु गरिने उहाँको प्रतिबद्धता छ । श्रेष्ठले विष्णुद्वार, वागद्वार, नागार्जुन र गोदावरी क्षेत्रका जलाधार तथा पानीका मुहान संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
घरमै वर्षाको पानी संकलन, खुला क्षेत्र संरक्षण र सडक किनारमा हरियाली विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो । जलवायु परिवर्तनको प्रसंग उठाउँदै उहाँले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि हिमनदी पग्लिने र हिमाली समुदायले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो ।
जलवायु न्यायको सुरुवात आफ्नै देशबाट हुनुपर्ने उहाँको भनाइ छ । संघीय सरकारले वातावरण संरक्षणका परियोजनामा स्थानीय तहलाई आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्ने प्रतिबद्धतासमेत श्रेष्ठले जनाउनुभयो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया