काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा चलनचल्तीका लागि अनुपयुक्त भएका ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ ।
केन्द्रीय बैंकका अनुसार झुत्रा, मैला, च्यातिएका तथा अन्य कारणले प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका नोटहरू नष्ट गरिएको हो । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट सटही तथा जम्माका लागि प्राप्त भएका ती नोटलाई धुल्याएर ब्रिकेट बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
२०८३ असार मसान्तसम्म संकलन भएका विभिन्न दरका नोटहरू निर्धारित प्रक्रियाअनुसार नष्ट गरिएको केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यसैबीच, मुलुकमा चलनचल्तीमा रहेका नोटको परिमाण पनि बढेको छ । २०८२ असार मसान्तमा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म आइपुग्दा ६।०८ प्रतिशतले वृद्धि भएको छ ।
योसँगै चलनचल्तीमा रहेका नोटको कुल मूल्य करिब ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । पुराना तथा प्रयोग गर्न अयोग्य नोट हटाउने प्रक्रिया मुद्रा व्यवस्थापनअन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया