नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६ हजार ३०० रुपैयाँले सस्तिएको हो । चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँ रहेको चाँदी बुधबार घटेर ३ हजार ३८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
पछिल्लो मूल्य गिरावटसँगै सुनको भाउ केही दिनयता निरन्तर ओरालो लागिरहेको देखिन्छ । गत कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता बुधबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २३ हजार ४०० रुपैयाँले घटिसकेको छ ।
बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावले उपभोक्ता, सुनचाँदी व्यवसायी तथा लगानीकर्ताको चासो बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा हुने परिवर्तन, अमेरिकी डलरको विनिमय दर तथा आयात लागतले नेपाली बजारको मूल्य निर्धारणमा प्रभाव पार्ने गर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया