काठमाडौं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराई, उपत्यका तथा खोँचका अधिकांश स्थानमा तुवाँलो लागेको छ ।
महाशाखाले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो कोशी र मधेस प्रदेशमा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।
त्यस्तै, आज राति पनि कोशी र मधेस प्रदेशका केही स्थानमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार भने देशभर आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार कोशी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
त्यसैगरी, मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि केही प्रदेशमा आंशिक बदली, हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले मौसमको अवस्थाबारे जानकारी लिन महाशाखाले जारी गर्ने नियमित पूर्वानुमानमा ध्यान दिनुपर्ने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया