काठमाडौं । हरिबोधिनी एकादशी पर्वको अवसरमा ओखलढुंगाका दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका चम्पादेवी र लिखु गाउँपालिकाले धार्मिक पर्वका अवसरमा गाउँपालिकाभित्रका सरकारी कार्यालय तथा विभिन्न संस्थामा बिदा दिने निर्णय गरेका हुन् ।
चम्पादेवी गाउँपालिकाले कात्तिक ११ गते गरेको निर्णयअनुसार आज गाउँपालिकाभर स्थानीय बिदा दिएको हो । गाउँपालिकाले जारी गरेको सूचनाअनुसार चम्पादेवीस्थित ककनी मन्दिरमा हरिबोधिनी एकादशीका दिन विशेष धार्मिक मेला लाग्ने भएकाले पर्वको महत्वलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो ।
गाउँपालिकाले सार्वजनिक बिदा दिए पनि अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाएको छ । बिदाका कारण सर्वसाधारणलाई अत्यावश्यक सेवा लिन समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक सेवा खुला राखिने सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, ओखलढुंगाकै लिखु गाउँपालिकाले पनि हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालयले मंसिर ३ गते गरेको निर्णयअनुसार गाउँपालिकाअन्तर्गतका सबै कार्यालय तथा संघसंस्थामा बिदा दिने व्यवस्था गरिएको हो ।
लिखु गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था र अन्य संघसंस्थामा सार्वजनिक बिदा लागू हुनेछ ।
यद्यपि, अत्यावश्यक स्वास्थ्य सेवाबाहेकका सेवा बन्द रहने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको निरन्तरताका लागि अत्यावश्यक सेवा भने सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।
हरिबोधिनी एकादशी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हो । यस दिन भगवान् विष्णुको विशेष पूजा आराधना गर्नुका साथै तुलसीसँग विष्णुको विवाह गराउने परम्परा छ । यही धार्मिक महत्व र स्थानीय धार्मिक गतिविधिलाई ध्यानमा राख्दै ओखलढुंगाका दुई गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
चम्पादेवीमा ककनी मन्दिरमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी स्थानीय बिदा दिइएको छ भने लिखु गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्रका कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा बिदा लागू गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया