धनतेरसमा सुनचाँदीका सिक्का किन्न टक्सारमा भीड

81 Shares


तिहारको धनतेरस पर्व नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बिहीवारदेखि बबरमहलस्थित टक्सार विभागमार्फत सिक्का बिक्री गर्न थालिएको हो । धनतेरसमा सुनचाँदी खरिद गर्ने परम्परालाई ध्यानमा राख्दै राष्ट्र बैंकले सर्वसाधारणका लागि असर्फी उपलब्ध गराएको जनाएको छ ।

एक व्यक्तिले साढे दुई, पाँच र १० ग्रामका एक–एक थान असर्फी किन्न पाउने व्यवस्था गरिएको छ । असर्फीको मूल्य दैनिक सुनको बजार भाउअनुसार निर्धारण हुनेछ । त्यसमा व्यक्तिगत खरिदकर्ताका लागि प्रतिग्राम २०० रुपैयाँ र संस्थागत खरिदकर्ताका लागि ३०० रुपैयाँ थप गरी मूल्य कायम गरिनेछ ।

सिक्का बिक्री सुरु भएसँगै टक्सार विभागमा खरिदकर्ताको चहलपहल बढेको छ । बिहानैदेखि सर्वसाधारण लामो लाइनमा बसेर सुन तथा चाँदीका सिक्का खरिद गरिरहेका छन् । धनतेरसका दिन सुनचाँदीका सामग्री खरिद गर्नुलाई शुभ र समृद्धिको संकेत मानिने भएकाले यस पर्वमा यस्ता सामग्रीको माग बढ्ने गरेको छ ।