एसिया राइजिङ स्टार्स कप : नेपालले आज भारत ‘ए’ सँग खेल्दै

12 Shares

काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

भारत ‘ए’को कप्तानी तिलक वर्माले गर्दैछन्। टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता चर्चित खेलाडी रहेका छन्। बलियो खेलाडी सम्मिलित भारतीय टोलीविरुद्ध नेपालले चुनौतीपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।

नेपालले एसिया मेन्स एलिट कपमा गरेको प्रदर्शनका आधारमा एसिया राइजिङ स्टार्स कपमा स्थान बनाएको हो। यस प्रतियोगितालाई नेपाली युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव हासिल गर्ने अवसरका रूपमा हेरिएको छ।

भारत ‘ए’ जस्तो बलियो टोलीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीलाई आफ्नो खेलस्तर परीक्षण गर्ने अवसरसमेत प्रदान गर्नेछ।