काठमाडौं । देउसी–भैलो कार्यक्रमका नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकतामा प्रतिकूल असर पर्ने गरी देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कञ्चनबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–८ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ निवासी २४ वर्षीया बिपना मगर रहेका छन् ।
उनीहरूलाई सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक स्थानमा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचारविपरीतका गतिविधि हुन नदिन प्रहरी सक्रिय रहेको उल्लेख गरिएको छ ।
प्रहरीले यस्ता गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया