काठमाडौँ । प्रहरीले काठमाडौँ र तनहुँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४४ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद रकम, कौडा र ताससमेत बरामद गरेको जनाएको छ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुशुम छ्याम्बा हाउस तथा होम स्टेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सञ्चालकसहित ३७ जना पक्राउ परेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होम स्टेका सञ्चालक ३४ वर्षीय कुमार लामासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ परेकाहरूको साथबाट पाँच लाख ७८ हजार ५५५ रुपैयाँ नगद र १६ थान कौडा बरामद गरिएको छ।
त्यसैगरी, तनहुँको भिमाद नगरपालिका–६ रत्नचोकस्थित काठमाडौँ मःम होटलबाट होटल सञ्चालकसहित सात जना पक्राउ परेका छन्।
होटलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक ६६ वर्षीय लोकबहादुर श्रेष्ठसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट एक लाख ५० हजार ५४० रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै स्थानबाट गरी कुल ४४ जनालाई नियन्त्रणमा लिएको छ। दुवै घटनामा बरामद गरिएको नगद रकम जोड्दा सात लाख २९ हजार ९५ रुपैयाँ पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया