जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी

9 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउनुहुने भएको छ । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिनुभयो । सांसदसमेत रहनुभएका नेता झाले सभापति लामिछानेले जनकपुर आउनेभएपछि तयारी तिब्र पारिएको जानकारी दिनुभयो ।

झाका अनुसार लामिछाने श्रीमती निकिता पौडेल लामिछानेसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा छन् । ‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ,’ झाले भन्नुभयो ।

पार्टीसँग असम्बन्धित व्यक्तिको घरमा बस्न लामिछानेले आग्रह गरेको उहाँले बताउनुभयो । ‘सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ । पार्टीको सदस्यको घरमा होइन कि सामान्य कोही नागरिकको घरमा सरिक हुने र त्यो पार्टीको सदस्य वा पार्टी सदस्यको आफन्त पनि नहोस् किनकि राजनीतिक आग्रहहरू त्यहाँ जोडिन सक्छ भन्ने उहाँको कुरा छ,’ झाले भन्नुभयो ।

लामिछानेकी पत्नी निकिता पनि खरनादेखि बिहानको अर्घ्यसम्मका सबै विधिमा व्रत बसेर सहभागी हुने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

‘उहाँको श्रीमतीले विधिवत् रूपमा खरनादेखि बिहानको अर्घसम्म सबै प्रक्रियाहरूमा व्रत बसेर सरिक हुने इच्छा राख्नुभएको छ । र त्यहीअनुसार हामीले तयारी गर्दैछौँ,’ झाले भन्नुभयो ।

लामिछानेको जनकपुर भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता नदिइने झाले बताउनुभयो । सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

भीडभाड व्यवस्थापनलाई ध्यानमा राखेर छठ पूजाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । विगतमा जनकपुरमा विवाहपञ्चमी लगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको, सर्वसाधारणलाई असहज भएको र सुरक्षा चुनौती देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहको जनकपुर भ्रमणबारे भने कुनै औपचारिक जानकारी नआएको झाले बताउनुभएको छ ।