काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण माइक्रोबस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरीका अनुसार बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा दुर्घटनामा परेको हो। बिहान करिब ६ः१० बजे सडकबाट झन्डै ७०० मिटर तल खसेर गाडी दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये ११ जनाको शव हेटौँडा अस्पताल पुर्याइएको थियो भने थप तीन जनाको शव दिउँसो दुर्घटनास्थलमा भेटिएको थियो। पछिल्लो समय फेला परेका तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका सुवेक यादव, शिक्षा यादव, दिपीकाकुमारी यादव, सुवोध यादव, अनु राय यादव, रोहन यादव, रामदुलार राय यादव, गुड्ड राय यादव, गायत्रीदेवी यादव र पुनम यादव छन्। त्यस्तै, कविलासी नगरपालिका–८ का माइक्रोबस चालक रविशंकरकुमार मण्डलको पनि मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। अन्य तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको छ। चितवन रिफर गरिएकामध्ये ३१ वर्षीय देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने तीन वर्षीय सुजन यादव र १६ महिनाका सुदीप यादवको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित २० जना सवार रहेको खुलेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया