विश्वका प्रमुख औद्योगिक राष्ट्रहरूको समूह जी–७ का विदेशमन्त्रीहरूको दुईदिने बैठक सोमबार फ्रान्सको राजधानी पेरिसमा सुरु हुँदैछ । बैठकमा रुस–युक्रेन युद्ध, इरानसँगको द्वन्द्व, मध्यपूर्वको सुरक्षा र विश्व ऊर्जा संकट प्रमुख छलफलका विषय बन्ने भएका छन् ।
बैठकमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, क्यानडा र जापानका विदेशमन्त्री सहभागी हुँदैछन् । युरोपेली संघको समेत सहभागिता रहने बैठकमा युक्रेन, साउदी अरब, इजिप्ट, दक्षिण कोरिया र ब्राजिलका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ ।
युक्रेनलाई थप आर्थिक, सैन्य तथा ऊर्जा सहयोग उपलब्ध गराउने विषयमा विशेष छलफल हुने बताइएको छ । रुसले युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको र युक्रेनमा हवाई प्रतिरक्षा सामग्रीको अभाव देखिएको विषय पनि बैठकमा उठ्नेछ । युक्रेनका विषयमा हुने छलफल यूएईको अबुधाबीमा अमेरिका, रुस र युक्रेनबीच हुन लागेको त्रिपक्षीय वार्ताभन्दा अगाडि हुन लागेको हो।
त्यस्तै, इरानसँगको द्वन्द्व थप चर्किन नदिन कूटनीतिक प्रयास अघि बढाउने विषयमा पनि सदस्य राष्ट्रहरूबीच छलफल हुनेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बैठकमा युक्रेनको युद्धपछिको सुरक्षा सुनिश्चितता र इरानसँगको द्वन्द्व समाधानका विषयमा सहयोगी राष्ट्रहरूसँग छलफल गर्ने बताउनुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया