दुर्गम हिमाली जिल्ला डोल्पाका नागरिक सामान्यदेखि जटिल स्वास्थ्य समस्या पर्दासमेत सहज उपचार पाउनबाट वञ्चित हुँदै आएका छन् । जिल्ला अस्पतालमा आईसीयू सेवा तथा आवश्यक विशेषज्ञ चिकित्सक नहुँदा गम्भीर अवस्थाका बिरामीलाई प्राथमिक उपचारपछि अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता छ ।
१५ शय्याको स्वीकृति पाएको जिल्ला अस्पतालमा बिरामीको चाप भने बढ्दो छ । दैनिक ६० देखि ७० जनासम्म बिरामी बहिरङ्ग सेवामा आउने गरेका छन् । तर अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्तिको अभाव कायमै छ । स्वीकृत ३२ जनाको दरबन्दीमध्ये २४ जना मात्रै कार्यरत छन् । हाडजोर्नी, स्त्रीरोग, शल्यक्रियालगायतका विशेषज्ञ चिकित्सक नहुँदा जटिल रोगको उपचारमा समस्या हुने गरेको छ ।
अर्कोतर्फ जिल्लाका चार स्थानीय तह अझै सडक सञ्जालसँग जोडिएका छैनन् । कतिपय बस्तीबाट बिरामीलाई अस्पतालसम्म ल्याउन दुई दिनभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सडक सुविधा नहुँदा बिरामीलाई डोको र स्ट्रेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको छ ।
अस्पताल प्रशासनले बिरामीको चाप र आवश्यकताअनुसार शय्या, विशेषज्ञ जनशक्ति, उपकरण तथा पूर्वाधार थप गर्नुपर्ने आवश्यकता औँल्याएको छ । संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरे पनि डोल्पाका नागरिक भने अझै सहज उपचारको पहुँचबाट टाढा छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको स्तरोन्नति र आवश्यक जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया