बालबालिका र गर्भवतीलाई इनर्जी ड्रिङ्क्स नपिउन खाद्य विभागको आग्रह

61 Shares

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेह भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न आग्रह गरेको छ । विभागले कात्तिक ११ गते सूचना जारी गर्दै यस्ता पेय पदार्थ सेवन गर्दा उत्पादनको लेबलमा उल्लेख गरिएका चेतावनीलाई ध्यान दिन पनि उपभोक्तालाई सचेत गराएको हो ।

नेपालमा १७ वटा उद्योगले सरकारी अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन् । उत्पादनको लेबल र प्रयोगशाला परीक्षण प्रतिवेदनमा प्रतिक्यान करिब १०० मिलिग्राम क्याफिन रहेको पाइएको विभागले जनाएको छ । विभागले यो मात्रा स्वस्थ वयस्कका लागि तोकिएको अन्तर्राष्ट्रिय दैनिक सुरक्षित सीमाभित्र रहेको स्पष्ट पारेको छ ।

विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई पनि एक दिनमा ३३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी नपिउन आग्रह गरेको छ । इनर्जी ड्रिङ्क्सलाई पानी, जुस, दूध र मोहीजस्ता पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न तथा अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि सुझाव दिएको छ ।