काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताएकी छन् ।
आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकताबद्ध बनाउने बताइन्। नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै उनले यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताइन् ।
कुकुर तिहारको महत्त्वबारे चर्चा गर्दै काफ्लेले कुकुरको निष्ठा, प्रेम, वफादारिता र करुणालाई सम्मान गर्न यो पर्व मनाइने बताइन् । कुकुरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित नरहेको र विभिन्न समुदायका मौलिक परम्परा तथा पौराणिक कथामा समेत यसको विशेष स्थान रहेको उनको भनाइ थियो ।
‘हाम्रा व्यक्तिगत तथा राजनीतिक विचार फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हुनु र नेपालको विशिष्टता विश्वसामु चिनाउनु हो । यही साझा उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ,’ उनले भनिन् ।
कुकुर तिहारका दिन कुकुरको निष्ठा, प्रेम, करुणा र वफादारीको सम्मान गर्दै पूजा गरिने उल्लेख गर्दै उनले यसको सम्बन्ध हिन्दु धर्ममा मात्र सीमित नरहेको बताइन् । विभिन्न आदिवासी तथा जनजातिका संस्कृति र पौराणिक कथामा पनि कुकुरको विशेष स्थान रहेको उनले उल्लेख गरिन् ।
आफू कुकुर तिहार आयोजना गर्न प्रेरित हुनुको कारण सुनाउँदै काफ्लेले बाल्यकाल मोरङको उर्लाबारीमा बिताएको स्मरण गरिन् । जीवनका सुरुवाती १०–११ वर्ष उर्लाबारीमा बिताउँदा त्यहाँका हरेकजसो घरमा कुकुर पाल्ने चलन रहेको र कुकुर तिहारका अवसरमा सामूहिक पूजा तथा जमघट हुने गरेको उनले बताइन् ।
‘म आफैँ मोरङको उर्लाबारीमा जन्मिएर बाल्यकाल बिताएको हुँ । त्यहाँका घरघरमा कुकुर पाल्ने, सामूहिक रूपमा पूजा गर्ने र कुकुरसँग जोडिएका सांस्कृतिक परम्पराहरूले मेरो बाल्यकालमा गहिरो प्रभाव पारे,’ उनले भनिन् ।
त्यसैगरी, श्राद्धका बेला आफ्ना हजुरबुबा र हजुरआमाले पितृहरू कुकुरको भेषमा आउने गरेको रोचक कथा सुनाउने गरेको स्मरण गर्दै उनले यस्ता सांस्कृतिक कथाले बाल्यकालदेखि नै कुकुरप्रति आफ्नो आत्मीयता र लगाव बढाएको बताइन् ।
‘श्राद्धका बेला पितृहरू कुकुरको भेषमा आउनुहुन्छ भन्ने हजुरबुबा–हजुरआमाले सुनाउनुभएका कथाहरूले पनि कुकुरप्रतिको मेरो आत्मीयता र लगाव बढाएको हो। यही बाल्यकालको सम्झना र कुकुरप्रतिको प्रेमले मलाई कुकुर तिहार आयोजना गर्न प्रेरित गरेको हो,’ उनले भनिन् ।
कुकुरप्रतिको प्रेम, सम्मान र मानवीय संवेदनालाई सांस्कृतिक पर्वसँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत उनले दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया