धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजना अघि बढाइएको छ । यसका लागि दुवै देशका पक्षबाट आवश्यक तयारी र प्राविधिक परीक्षणलाई तीव्रता दिइएको छ । प्रस्तावित रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था बुझ्न १७ बगी भएको भारतीय रेलमार्फत परीक्षण गरिएको नेपाल रेल्वेले जनाएको छ ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा विस्तार गर्ने योजनाअन्तर्गत परीक्षण गरिएको हो । तर, प्राविधिक जाँच र अन्य आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकाले सेवा सञ्चालनको मिति भने निश्चित भइसकेको छैन ।
योजनाअनुसार नेपालतर्फ जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत यात्रुलाई भारतका विभिन्न दुईदेखि तीनवटा स्टेशनबाट चढाएर अयोध्यासम्म पु¥याउने प्रस्ताव गरिएको छ ।
जनकपुरधाम र अयोध्या हिन्दू धर्मावलम्बीका महत्वपूर्ण धार्मिक स्थल हुन् । जनकपुरलाई सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा मानिने भएकाले दुई सहरबीच रेल सेवा सुरु भए धार्मिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया