सीता गुरुङ–तेह्रथुममा ६५ वर्षपछि कांग्रेसको खाता खोलिन्, उपसभापति बन्न समावेशी खुला कोटा रोजिन् महिला कोटाभन्दा माथि उठेर खुला प्रतिस्पर्धामा सीता गुरुङ, नयाँ पुस्तालाई नेतृत्वको अवसर दिने सन्देश नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले यसपटक महिला कोटाबाट होइन, खुला प्रतिस्पर्धाबाट पार्टीको उपसभापति बन्ने तयारी गरेकी छन् ।
लामो समय पार्टीको विभिन्न तहमा रहेर काम गरेकी पूर्वमन्त्री गुरुङले समावेशी क्लस्टरको उपसभापतिमा उम्मेदवारी दिएकी हुन् । महिला सहभागिताका लागि छुट्याइएको कोटालाई आफूजस्ता स्थापित नेतृले मात्रै प्रयोग गरिरहनुभन्दा नयाँ पुस्ताका महिलालाई नेतृत्वमा
आउने अवसर दिनुपर्ने धारणा अघि सारेकी छन् । गुरुङको बुझाइमा महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था अधिकार सुनिश्चित गर्ने आधार मात्रै होइन, नयाँ महिलालाई नेतृत्वमा विकास गर्ने अवसर पनि हो । त्यसैले लामो समयदेखि पार्टी नेतृत्वमा स्थापित महिलाहरूले सधैँ महिला कोटामै प्रतिस्पर्धा गरिरहनुभन्दा खुला प्रतिस्पर्धामा आउनुपर्ने र महिला कोटाबाट नयाँ पुस्ताका महिलालाई अघि बढाउनुपर्ने सोचेर आफूले खुला प्रतिस्पर्धा गरेको उनले बताइन् ।
यही सोचका साथ गुरुङले कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति (समावेशी) पदका लागि खुला प्रतिस्पर्धामा जाने निर्णय गरेकी छन् । गुरुङको राजनीतिक यात्रा भने लामो र विविध जिम्मेवारीले भरिएको छ। विद्यार्थी राजनीतिदेखि पार्टी संगठन, महिला तथा आदिवासी जनजाति आन्दोलन, संविधान निर्माण, संसद् र सरकारसम्मको अनुभव उनले हासिल गरेकी छन् ।
तेह्रथुमबाट प्रतिनिधित्व गर्ने गुरुङ कांग्रेसले लामो समयसम्म जित्न नसकेको निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव जितेर चर्चामा आएकी नेतृ हुन् । २०१५ सालदेखि कहिल्यै कांग्रेसले नजितेको जिल्लामा उनले कांग्रेसको खाता खोलेकी थिइन । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुमबाट प्रत्यक्ष निर्वाचित हुँदै उनले जिल्लामा कांग्रेसको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी थिइन् ।त्यसअघि उनी २०६४ सालमा संविधानसभा सदस्य बनेकी थिइन् ।
संविधान निर्माण प्रक्रियामा सक्रिय रहँदै उनले संविधानसभा अन्तर्गत राज्यको शासकीय स्वरूप निर्धारण समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिमा काम गरेकी थिइन् ।गुरुङ २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्रीसमेत बनेकी थिइन् ।
२०७९ सालमा उनी सहरी विकास मन्त्रीको जिम्मेवारीमा पुगिन् । कांग्रेसबाट प्रत्यक्ष चुनाव जितेर आफूलाई अब्बल साबित गरेकी गुरुङले २०८२ को चुनावमा टिकट नपाएपनि पार्टीको मूलधार छाडिनन् ।विद्यार्थी राजनीतिदेखि कांग्रेसको केन्द्रीय नेतृत्वसम्म तेह्रथुममा जन्मिएकी गुरुङको राजनीतिक सक्रियता २०४६ सालको जनआन्दोलनबाटै भएको हो ।
उनी २०६२–६३ को जनआन्दोलनको सेरोफेरोबाट थप सशक्त भएको देखिन्छ । २०६४ सालमा उनी संविधानसभा सदस्य बनेकी थिइन् । त्यसअघि नै उनी नेपाल विद्यार्थी संघमा आबद्ध भएर विद्यार्थी राजनीतिमा सक्रिय भइसकेकी थिइन् । उनले २०६७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरेकी थिइन् ।
त्यसपछि कांग्रेसको महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिमा उनको भूमिका विस्तार भएको थियो । २०७२ सालमा कांग्रेसको १३औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भइन् । २०७८ सालको १४औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङले पार्टीको आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेकी छन् ।कांग्रेसको १४औँ महाधिवेशनमा सांस्कृतिक समितिको संयोजकको जिम्मेवारीमा रहेकी गुरुङ अहिले १५औँ महाधिवेशनमा उपसभापति पदको प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
यसअघि उनले नेपाल महिला संघ तेह्रथुमको जिल्ला सदस्य, सभापति र केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेकी थिइन् । नेपाल तरुण दल तेह्रथुमको जिल्ला कोषाध्यक्ष हुँदै पार्टी संगठनमा अघि बढेकी गुरुङले महिला संघको नेतृत्वमार्फत पनि राजनीतिक आधार विस्तार गरेकी थिइन् । ‘महिला कोटा नयाँ पुस्ताका लागि’ गुरुङको अहिलेको उम्मेदवारीको एउटा महत्वपूर्ण राजनीतिक सन्देश भने महिला नेतृत्व विकाससँग जोडिएको छ ।
महिलालाई पार्टीमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था आवश्यक भए पनि त्यसलाई स्थापित महिला नेतृहरूलाई पटक–पटक नेतृत्वमा पुग्ने माध्यम मात्रै बनाइन नहुने उनको धारणा छ ।महिलाका लागि छुट्याइएको अवसरलाई नयाँ पुस्ताका महिलाको नेतृत्व विकासमा प्रयोग गर्नुपर्छ’ भन्ने सोचसहित आफू खुला प्रतिस्पर्धामा आएको बताइन् । उनको यो कदमलाई महिला आरक्षणको व्यवस्थालाई अस्वीकार गर्नेभन्दा पनि त्यसको अवसरलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।
महिला, आदिवासी जनजाति, नयाँ पुस्ता र पार्टी संगठनको अनुभवलाई एकै ठाउँमा जोड्दै उनले कांग्रेसको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेकी छन् ।गुरुङले महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका लागि साथ, सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया