काँग्रेस १५ औँ महाधिवेशनः नेतृत्वका लागि उम्मेदवारी दर्ताको रौनक

8 Shares

काठमाडाैं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया तिब्रताका साथ अघि बढेको छ ।

मंगलवार काठमाडौंको राष्ट्रिय सभागृहमा पुगेर पार्टीका विभिन्न तहका नेताहरूले उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदहरूमा आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । महाधिवेशनमा उम्मेदवारी दर्ता गराउने क्रममा विभिन्न पदमा नेताहरूको लर्को लागेको छ ।

महामन्त्री पदका लागि नैनसिंह महरले औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभएको छ । यसअघि नै महामन्त्री पदका लागि प्रदीप पौडेल र डा. सुनीलकुमार शर्माले पनि आफ्नो दाबेदारी प्रश्तुत गरिसक्नुभएको छ ।

उपसभापति पदका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, समावेशी समूहबाट विनोद चौधरी र समावेशी उपसभापतिमा जीवन परियारले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी, महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले आफ्नो नाम दर्ता गराउनुभएको छ । महामन्त्री पदमा महिलातर्फ डा. डिला संग्रौला, महालक्ष्मी उपाध्याय ‘डीना’ र रीता खनालले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, सहमहामन्त्री पदका लागि देवेन्द्रराज कँडेल र मनोजमणि आचार्यले प्रतिष्पर्धामा उत्रिने तयारी गर्नुभएको छ । केन्द्रिय सदस्यमा बासना थापाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीको आगामी नेतृत्व चयनका लागि देशभरबाट जम्मा भएका ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिनेछन् । उम्मेदवारी दर्तासँगै यतिबेला काँग्रेस वृत्तमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरूले आ–आफ्नो पक्षमा मत तान्न विभिन्न गठबन्धन र प्यानलहरूको छलफललाई पनि तिब्रता दिएका छन् ।