‘ज्यापू समाजको मानार्थ सदस्य बन्न चाहन्छु’: सांसद खरेल

18 Shares

 ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’ का रूपमा चिनाउने धोको रहेको बताउनुभएको छ । ज्यापू समाजको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रश्ताव राख्नुभएको हो ।

ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवारी कला र संस्कृतिसँग आफ्नो पुरानो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । समाजको विधान, नियम र परम्परागत प्रक्रियाले मिल्ने भए आफूलाई मानार्थ सदस्यका रूपमा स्वीकार्न उहाँले ज्यापू समाजका अध्यक्ष तथा पदाधिकारीहरूसँग आग्रह गर्नुभयो । उहाँले नियम र परम्पराले दिए ‘जगदीश खरेल नेवार’ का रूपमा समाजको सेवा गर्न आफू पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ । यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा सानो लोभ छ,कर्तव्य निर्वाह गर्नका लागि भएपनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला । मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, “तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ रु भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस् । अध्यक्ष बन्ने चाहना छैन, तर समाजप्रतिको कर्तव्य निर्वाह गर्ने अवसर भने चाहन्छु ।

त्यसैले अध्यक्षज्यू र सम्पूर्ण पदाधिकारीज्यूहरूको उपस्थितिमा आज यो कुरा खुलेर राखेको छु, यदि यहाँहरूको नियम, संस्कृति, परम्परा र प्रक्रियाले मिल्छ भने, जगदीश खरेल नेवारलाई मानार्थ सदस्य र कर्तव्यमा प्रतिवद्ध सदस्यका रूपमा स्वीकार गरिदिनुहोस्। म त्यसका लागि अत्यन्त आभारी हुनेछु । ज्यापु समाज र यहाँका अग्रजहरूसँग मेरो सम्बन्ध आजको होइन। ललितपुरको कला र संस्कृतिप्रति मेरो सधैँ गहिरो सम्मान छ । कृष्णलाल महर्जन ‘बा’प्रति मेरो विशेष सम्मान छ ।

चन्द्र दाइसँग आत्मीय सम्बन्ध छ, प्रेमबहादुर महर्जन मान्यज्यूसँग पनि उत्तिकै आत्मीयता छ । र चिरिबाबु महर्जनसँगको मेरो आत्मीयता त झन् विशेष छ । यी सम्बन्धहरू मेरा लागि केवल व्यक्तिगत सम्बन्ध होइनन्,ललितपुरको कला, संस्कृति र समुदायसँग जोडिएको मेरो भावनात्मक सम्बन्ध हो ।’ सांसद खरेलले आफ्नो कर्मभूमि ललितपुरको कला, संस्कृति र अमूर्त सम्पदाको संरक्षणमा आफूले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले ललितपुरको विकास र सम्पदा संरक्षणका लागि आफूले संसदमा सशक्त भुमिका खेल्ने र आगामी हिउँदे अधिवेशनमार्फत अमूर्त सम्पदा सम्बन्धी विधेयक अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सांसद खरेलले ललितपुरलाई कला र संस्कृतिको जीवन्त शहरको रूपमा परिभाषित गर्दै यहाँको सम्पदाको जगेर्ना गर्न समुदायको सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले हालसम्म नेपालमा अमूर्त सम्पदा सम्बन्धी ऐन नहुँदा सांस्कृतिक पर्व, जात्रा र परम्पराको संरक्षणमा कठिनाइ भइरहेको भन्दै, नयाँ विधेयकमा राज्यको तर्फबाट आर्थिक व्यवस्थापन र स्थानीय समुदायको निर्णायक भूमिका रहने गरी कानून बनाउन पहल गरिरहेको बताउनुभयो ।

उहाँले ललितपुरको पर्यटन प्रवद्र्धनका लागि ‘ललितपुर कन्क्लेभ’को अवधारणा अघि सार्नुभयो । उहाँले पाटनका ऐतिहासिक विभूति अरनिकोको जन्मस्थानबारे भइरहेको खोज र अनुसन्धानलाई निष्कर्षमा पुर्‍याई त्यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । सांसद खरेलले आफ्नो राजनीतिक यात्राभन्दा बढी समय ललितपुरको पाटन क्षेत्रमा व्यतीत भएको स्मरण गर्दै आफूमा नेवार समुदायप्रति विशेष आत्मीयता रहेको बताउनुभयो ।

उहाँले ज्यापु समाजको मानार्थ सदस्य बन्ने आफ्नो इच्छा प्रकट गर्दै अधिकारभन्दा पनि कर्तव्य निर्वाह गर्ने थलोको रूपमा आफूलाई उभ्याउन चाहेको उल्लेख गर्नुभयो ।