काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलाेरले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित निकालेको छ ।
रायपुरमा आइतबार राति भएकाे खेलमा मुम्बईले अन्तिम बलमा दिएको १ सय ६७ रनको लक्ष्य बैंगलाेरले ८ विकेट गुमाएर पूरा गरेकाे हाे । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बैंगलाेरका भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए ।
याे जितसँगै बैंगलाेर १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको हाे । मुम्बई ६ अंकसहित तालिकाको नवौं स्थानमा छ ।
त्यस्तै, चेन्नईमा आइतबारै भएकाे अर्काे खेलमा चेन्नई सुपर किङ्ग्ससँग पाँच विकेटले पराजित भएपछि लखनऊ सुपर जायन्ट्सको आईपीएलमा प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । लखनऊले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेकाे छ ।
चेन्नईका उर्विल पटेलले ६५ रनको इनिङ खेलेका थिए । लखनऊका दिग्वेश राठी र शाहबाज अहमदले समान दुई विकेट लिँदा आवेश खानले एक विकेट लिएका छन् । जितपछि ११ खेलमा १२ अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको हाे । हारसँगै समान खेलमा ६ अंक भएको लखनऊको भने अगाडि बढ्ने सम्भावना सकिएको छ ।
आईपीएल क्रिकेटमा साेमबार राति पौने ८ बजेदेखि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया