लोकतन्त्रको सुदृढीकरणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता आवश्यकः राष्ट्रपति पौडेल

9 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन शुरु भएको ऐतिहासिक दिन वैशाख २४ गतेलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरे ।

सो अवसरमा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे । अग्रजहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लाग्न सधैँ उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा पत्रकारिता जगतले खेलेको भुमिका उल्लेखनीय रहेको बताए । सञ्चारकर्मीहरूको सुरक्षा र वृत्तिविकासका विषयमा चर्चा गर्दै राष्ट्रपतिले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन एवं संप्रेषण गर्ने अवस्था सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताए । साथै, श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबिच प्रभावकारी समन्वय हुनुपर्ने उनको भनाइ छ । ‘स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता लोकतन्त्रको अनिवार्य शर्त हो । प्रेस स्वतन्त्रताविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन, त्यसैले हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा प्रत्याभूत गरेको छ’ उनले भने ।

वर्तमान समयमा सूचना प्रविधिको तिब्र विकाससँगै सामाजिक सञ्जालमार्फत प्रवाह हुने मिथ्या सूचना र भ्रमपूर्ण सामग्रीहरू पत्रकारिता क्षेत्रका लागि ठूलो चुनौती बनेको राष्ट्रपतिले उल्लेख गरे ।

यस्ता आधारहीन सूचनाबाट नागरिकलाई दिग्भ्रमित हुन नदिन र सत्य–तथ्य समाचार सम्प्रेषण गर्न नेपाली प्रेस सक्षम हुनेमा उनले विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै सुशासन, विकास र आर्थिक समृद्धिको राष्ट्रिय सङ्कल्प पूरा गर्ने अभियानमा नेपाली प्रेसले थप प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।