काठमाडौँ । किर्तिपुर क्राउन्सले यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि जितेको छ। हिजो सम्पन्न फाइनलमा आयोजक लेट्स गो एकेडेमीलाई ६३–२८ को फराकिलो स्कोरले पराजित गर्दै किर्तिपुर क्राउन्स च्याम्पियन बनेको हो।
नेपालमा सम्भवतः पहिलोपटक गर्ल्स सुपर लिगको प्रारूपमा आयोजना गरिएको प्रतियोगिताका लिग चरणका खेल ४५ दिनसम्म सञ्चालन भएका थिए। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा किर्तिपुर क्राउन्स र लेट्स गो एकेडेमीसँगै आई.एस.ए एकेडेमी, बलर्स एकेडेमी, सगरमाथा एकेडेमी, यचु एकेडेमी, जेभियर एकेडेमी र रिम रनर्स एकेडेमी सहभागी थिए।
च्याम्पियन बनेको किर्तिपुर क्राउन्सले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता लेट्स गो एकेडेमीले २० हजार रुपैयाँ हात पारेको छ।
व्यक्तिगत विधातर्फ लेट्स गो एकेडेमीकी दिभा महर्जन ‘म्यान अफ द लिग’ र ‘हाइएस्ट स्कोरर’ घोषित भइन्। सोही टोलीकी ग्रिभा महर्जनले ‘हाइएस्ट थ्री–पोइन्ट स्कोरर’को अवार्ड जितिन्।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी किर्तिपुर क्राउन्सकी लोरिसा गौचन ‘म्यान अफ द म्याच’ घोषित भइन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया