स्वास्थ्य क्षेत्रमा ठूलो राहत: ९७७ नयाँ स्थायी दरबन्दी स्वीकृत

12 Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको ९७७ स्थायी दरबन्दी थप्ने योजना अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । तीन दशकपछि स्वास्थ्य क्षेत्रमा स्थायी जनशक्ति थपिने भएको हो ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार बुधबार अर्थ मन्त्रालयले उक्त प्रस्तावलाई स्वीकृति दिएको हो ।

यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट पारित हुन बाँकी छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले दरबन्दी थप्ने औपचारिक निर्णय गर्नेछ ।

स्वास्थ्य क्षेत्रमा विगत ३० वर्षदेखि स्थायी दरबन्दी थपिएको थिएन । पूर्वस्वास्थ्य मन्त्रीहरूले पटक–पटक प्रयास गरे पनि सरकारबाट अनुमति पाउन सकेका थिएनन् । स्वास्थ्यकर्मी संगठन र विज्ञहरूले लामो समयदेखि यो माग गर्दै आएका थिए ।

देशको जनसंख्या तीन करोड नाघिसकेको अवस्थामा स्वास्थ्य संस्थाहरू पुरानै दरबन्दी संरचनामा सञ्चालन हुँदा विशेषज्ञ चिकित्सक, प्राविधिक र अन्य जनशक्तिको ठूलो अभाव थियो ।

नयाँ दरबन्दी थप भएपछि संघीय संरचना अनुसार स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको विश्वास छ । अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभावले भोग्नुपरेको समस्या केही हदसम्म सम्बोधन हुने अपेक्षा गरिएको छ ।