काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) माथि ४ विकेटको सहज जित निकालेको छ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा बिहीबार राति सम्पन्न भएको खेलमा बैंगलोरले दिएको १ सय ५६ रनको लक्ष्य गुजरातले २५ बल बाँकी छँदै मात्र ६ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितमा अलराउन्डर जेसन होल्डरले निर्णायक भूमिका खेलेका छन् । उनले बलिङतर्फ २ विकेट लिनुका साथै ३ वटा क्याच गरेका थिए । ब्याटिङमा १० बलमा १२ रनको महत्वपूर्ण योगदान दिए । होल्डर खेलको ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । बैंगलोरका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । सामान्य योगफलको फाइदा गुजरातले लिएको हो । १ सय ५६ रनको लक्ष्य पछ्याएको गुजरातले १५ दशमलव ५ ओभरमै १ सय ५८ रन बनाउँदै जित सुनिश्चित गरेको छ ।
यो जितसँगै गुजरात टाइटन्स १० अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । पराजित बैंगलोर भने १२ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया