इरानी विदेशमन्त्री अराघची फेरि इस्लामावादमा पुगे

19 Shares

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामावाद पुग्नुभएको छ ।

विदेशमन्त्री अराघची गत शनिबार मात्रै इस्लामावादबाट ओमानको राजधानी मस्कट जानुभएको थियो । निर्धारित कार्यतालिका अनुसार नै उहाँ इस्लामावादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिटै अन्त्य हुने र अमेरिकाले विजय हासिल गर्ने दावी गर्नुभएको छ । उहाँले इरान वार्ताका लागि इच्छुक भए सिधै संवाद गर्न सक्ने समेत बताउनुभएको खबरमा उल्लेख छ । यसअघि राष्ट्रपति ट्रम्पले पाकिस्तानमा प्रस्तावित अमेरिकी प्रतिनिधिमण्डलको बैठक रद्द गर्नुभएको थियो ।

आइतबार इस्लामावाद पुगेपछि इरानका विदेशमन्त्री अराघचीले पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरसँग भेट गर्नुभएको छ । विश्लेषकहरूका अनुसार उहाँले अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरु गर्न प्रस्तावित रूपरेखा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ । उहाँले क्षेत्रीय कूटनीतिक पहललाई तीव्र बनाउँदै कतार, साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूसँग टेलिफोन संवाद गर्नुभएको हाे । ती वार्तामा युद्धविराम, क्षेत्रीय सुरक्षा अवस्था र अमेरिका–इरानबीच जारी युद्धकाे बारेमा छलफल भएको जनाइएकाे छ ।

यद्यपि अमेरिकी सेनाले इरानमाथि लगाइएको नाकाबन्दी कडाइका साथ कार्यान्वयन गरिरहेको हाे । यसले क्षेत्रीय तनाव भने अझै कायम रहने संकेत देखिएको विश्लेषकहरूको तर्क छ ।