फिलिपिन्सको राजधानी मनिलामा ४९औँ आसियान शिखर सम्मेलन सुरु भएको छ । आइतबारदेखि सुरु भएको तीनदिने सम्मेलनमा दक्षिणपूर्वी एसियाली राष्ट्रका नेताहरू तथा विभिन्न अन्तर्राष्ट्रिय साझेदार मुलुकका प्रतिनिधिहरू सहभागी भएका छन् । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सम्मेलनको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटनका क्रममा उहाँले क्षेत्रीय एकता, सहकार्य र सामूहिक प्रयासको आवश्यकतामाथि जोड दिनुभयो । विश्वमा बढ्दो भूराजनीतिक तनाव, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन तथा सुरक्षा चुनौतीको सामना गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । सम्मेलनमा मुख्यगरी मध्यपूर्वमा जारी द्वन्द्व, म्यानमारको आन्तरिक द्वन्द्व, दक्षिण चीन सागरमा बढ्दो तनाव तथा क्षेत्रीय सुरक्षा र आर्थिक स्थायित्वका विषयमा छलफल हुने कार्यसूची छ ।
विश्वव्यापी द्वन्द्वका कारण ऊर्जा आपूर्ति, व्यापार तथा अर्थतन्त्रमा परेको प्रभावबारे पनि नेताहरूले छलफल गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्मेलनअन्तर्गतका विशेष बैठकमा सहभागिता जनाउने कार्यक्रम छ ।
सम्मेलनको अन्त्यमा फिलिपिन्सले आसियानको अध्यक्षता सिंगापुरलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। यस सम्मेलनलाई क्षेत्रीय सहकार्य सुदृढ बनाउने र अन्तर्राष्ट्रिय चुनौतीबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया