चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने विधेयक बेलायत संसदबाट पारित

43 Shares

एजेन्सी । बेलायतले आगामी पुस्तालाई धूमपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।

समाचार संस्था एपीले संसदबाट पारित कानूनले आगामी पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट संकेत दिएको जनाएको हाे । धूमपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता प्राप्त भएको हो । सूर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयक अनुसार सन् २००८ को डिसेम्बर ३१ पछि जन्मिएका अर्थात् अहिले १८ वर्ष उमेर पुगेका व्यक्तिहरूले जीवनभर चुरोट किन्न पाउने छैनन् ।

 

जसले अहिलेको उमेरमा आधारित सीमा हटाएर हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने प्रणाली लागू गर्नेछ । जसका कारण अहिलेका किशोर किशोरीहरू भविष्यमा पनि चुरोट किन्नबाट वञ्चित रहनेछन् । अहिले बेलायतमा १८ वर्ष भन्दा कम उमेरकालाई चुरोट र सूर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ ।

तर नयाँ कानूनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूमपानको अन्त्यतर्फ उन्मुख गरेको हाे । यहि कारणले बेलायत अब विश्वकै सबै भन्दा कडा धूमपान नियन्त्रण नीति अपनाउने देशहरूमध्ये एक बनेको छ ।

सरकारले विधेयकमा सूर्तीजन्य पदार्थ, भेपिङ उपकरण तथा निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा समेत कडा नियमनको व्यवस्था गरेकाे हाे ।