इरानका सरकारी सञ्चारमाध्यमहरूका अनुसार Islamic Revolutionary Guard Corps (आईआरजीसी) ले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज स्ट्रेट मा आफ्नो पूर्ण नियन्त्रण पुनः सुरु गर्ने घोषणा गरेको छ।
आईआरजीसीको विज्ञप्ति उद्धृत गर्दै इरानी समाचार एजेन्सीहरूले उक्त जलमार्ग अब पुरानै अवस्थामा फर्कने र सशस्त्र बलहरूले कडा निगरानी गर्ने बताएका छन्। इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै अमेरिकी नाकाबन्दीलाई ‘समुद्री लूट’ को संज्ञा दिएको छ।
यसअघि अब्बास अरागची ले सामाजिक सञ्जालमार्फत युद्धविराम अवधिमा उक्त जलमार्गबाट सबै व्यावसायिक जहाजहरूको आवतजावत खुला गरिएको बताएका थिए। सो घोषणापछि डोनल्ड ट्रम्प ले ‘ट्रुथ सोसल’ मा इरानलाई धन्यवाद दिएका थिए।
तर केही मिनेटमै ट्रम्पले अर्को सन्देश जारी गर्दै होर्मुज क्षेत्रमा अमेरिकी नाकाबन्दी जारी रहने स्पष्ट पारेपछि स्थिति थप अन्योलपूर्ण बनेको छ।
यस विरोधाभासपूर्ण अवस्थाले होर्मुज स्ट्रेट को वास्तविक स्थितिबारे विश्वभर अनिश्चितता सिर्जना गरेको छ। इरानले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिइरहेको छ।
इरान र अमेरिकाबीच बढ्दो तनावले विश्वव्यापी इन्धन आपूर्ति तथा सुरक्षा व्यवस्थामा थप चुनौती उत्पन्न गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया