एजेन्सी । कोलम्बिया मा सोमबार राति भएको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या करिब ६६ पुगेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कोलम्बियाली सेनाको सी–१३० विमान पेरु र इक्वेडरको सीमाक्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा दर्जनौँ यात्रु घाइते भएका छन्।
सेनाका ११४ कर्मचारी र ११ जना चालक दलका सदस्यसहित सवार उक्त विमान पुतुमायोस्थित प्युर्टो लेगुइजामोबाट उडान भर्नेबित्तिकै दुर्घटनामा परेको थियो। दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो ले घटनाबारे जानकारी दिँदै कारणबारे अनुसन्धान भइरहेको बताउनुभएको छ।
कोलम्बियाली वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानमा समस्या आएपछि विमानस्थलबाट करिब २ किलोमिटर टाढा खसेको हो।
यस वर्ष कोलम्बियामा भएको यो दोस्रो विमान दुर्घटना हो। यसअघि गत जनवरीमा देशको उत्तरी क्षेत्रमा भएको सानो यात्रुवाहक विमान दुर्घटनामा विमानमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया