एजेन्सी । अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन्।
संयुक्त अरब इमिरेट्सका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै उक्त घटना पुष्टि गरिएको हो। वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरेपछि त्यसको भग्नावशेष खसेर घटना भएको जनाइएको छ। घाइते भारतीय नागरिकलाई सामान्य चोट लागेको बताइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार अल-शवामेख क्षेत्रमा क्षेप्यास्त्रका टुक्रा खस्दा उक्त घटना भएको हो।
यूएईको रक्षा मन्त्रालयले देशको वायु रक्षा प्रणाली इरानी क्षेप्यास्त्र तथा ड्रोनबाट हुनसक्ने खतराको सामना गर्न सक्रिय रहेको जनाएको छ। साथै, अबुधाबी क्षेत्रमा सुनिएका ठूलो आवाजहरू क्षेप्यास्त्र र ड्रोन अवरोधका कारण भएको स्पष्ट पारिएको छ।
अधिकारीहरूले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन र अफवाह वा अप्रमाणित जानकारी नफैलाउन आग्रह गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया