एजेन्सी । अफ्रिकी मुलुक सुडानको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको मृत्यु भएको छ ।
देशको पश्चिमी डार्फर क्षेत्रमा रहेको अस्पतालमा गरिएको आक्रमणमा झण्डै ९० जना घाइते भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
पछिल्लो समय युद्धरत सुडानमा स्वास्थ्य संरचनामाथि हुने आक्रमण झनै भयावह बन्दै गएको छ । यस्तो घटनाले त्यहाँको मानवीय अवस्थालाई गम्भीर रूपमा प्रभावित बनाइरहेको संगठनले उल्लेख गरेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयससले पूर्वी डार्फरको अल डेइन शिक्षण अस्पतालमा भएको आक्रमणको कडा निन्दा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
आक्रमणपछि अस्पताल पूर्ण रूपमा निष्क्रिय बनेको र घाइते तथा बिरामीहरूको उपचारमा गम्भीर संकट सिर्जना भएको उनले बताएका छन् ।
सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ । सेना र अर्धसैनिक बलबीचको शक्ति संघर्ष युद्धमा परिणत हुँदा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू पटक–पटक निशानामा पर्दै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया