काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो, सतर्कता अपनाउन आग्रह

179 Shares

काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनयता वायु प्रदूषण उल्लेख्य रूपमा बढेको छ।

मौसम धुम्मिँदै जाँदा प्रदूषण पनि बढ्न थालेको हो। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्नु र मौसम धुम्मिनुका कारण प्रदूषण बढेको बताउँदै प्रदूषण बढी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा बाहिर निस्कँदा मास्क प्रयोग गर्न आग्रह गरेका छन्।

बुधबार बिहान ७ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७७ पुगेको छ। मंगलबार भने एक्यूआई २०० भन्दा माथि पुगेको थियो।

एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ। १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ। १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘बढी अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

हावा चलेमा वा वर्षा भएमा मौसम सफा भई प्रदूषण कम हुने सम्भावना हुन्छ। तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ। महानिर्देशक सुवेदीले वायु प्रदूषण बढेका बेला आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।