कञ्चनपुर । केही वर्षअघिसम्म धान काट्ने समय तय गर्न आकाशको बादल र मौसमको अवस्था नियाल्नुपर्ने कञ्चनपुरका किसान अहिले मौसम पूर्वानुमानको सूचनामार्फत खेतीपातीको योजना बनाउन थालेका छन्। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने पूर्वसूचनाले किसानलाई धान काट्ने, बाली भित्र्याउने तथा सम्भावित वर्षा र बाढीबाट जोगिन सहयोग पुगेको छ।
कृष्णपुर नगरपालिका–२ सरस्वती टोलका किसान निलम कार्कीले अहिले मौसमको अवस्था आफ्नो मोबाइलबाटै जानकारी लिन सक्ने भएकाले खेतीपातीको काम गर्न सहज भएको बताए। उनका अनुसार कहिले पानी पर्छ, कति वर्षा हुन सक्छ र वर्षाको सम्भावना कस्तो छ भन्ने जानकारी मोबाइल सन्देश तथा फोनमार्फत प्राप्त गर्न सकिन्छ।
“पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपथ्र्यो, अहिले मौसमको पूर्वसूचनाले सहज भएको छ,” कार्कीले भने, “११५५ मा फोन गरेर जानकारी लिएपछि धान काट्ने समय तय हुन्छ।”
पाँच कट्ठा जग्गामा धानखेती गरेका कार्कीले खेतीपातीसम्बन्धी महत्वपूर्ण निर्णय लिनुअघि जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने सूचनालाई आधार बनाउने गरेको बताए। उनका अनुसार मौसम पूर्वानुमानले बाली भित्र्याउन मात्र नभई बाढीको जोखिमबाट सुरक्षित रहनसमेत सहयोग पुगेको छ। नदीमा बाढी आउन सक्ने अवस्थामा साइरन बज्ने र मोबाइलमा सन्देश आउने व्यवस्था रहेकाले स्थानीय बासिन्दालाई समयमै सचेत हुन मद्दत पुगेको उनको भनाइ छ।
कृष्णपुरकै किसान निर्मला बडूलाई पनि मौसमसम्बन्धी पूर्वसूचनाले खेतीपातीको काममा सहज बनाएको छ। चार कट्ठा जमिनमा धानखेती गरेकी बडूले ११५५ नम्बरमा फोन गरेर मौसमको अवस्था बुझेपछि मात्रै धान काट्ने समय तय गर्ने गरेको बताइन्।
“११५५ मा मौसमबारे जानकारी लिएपछि मात्रै धान काट्ने समय तय हुन्छ,” उनले भनिन्, “आवश्यक जानकारी लिएर नै खेतमा धान काटेका छौँ।”
उनका अनुसार विभागबाट नियमित रूपमा प्राप्त हुने पूर्वसूचनाले किसानलाई मौसमअनुसार खेतीपातीको काम व्यवस्थापन गर्न सहज भएको छ। विशेषगरी धान पाक्ने समयमा अचानक वर्षा हुँदा खेतमै काटेर राखिएको धान भिज्ने तथा नष्ट हुने जोखिम हुने भएकाले मौसमको पूर्वानुमान किसानका लागि महत्वपूर्ण बनेको छ।
बेदकोट नगरपालिका–७ का किसान विसन पन्त पनि मौसमसम्बन्धी पूर्वसूचनाले अन्नबालीमा हुने सम्भावित क्षति कम गर्न सहयोग पुगेको बताउँछन्। विभागले बुधबार कञ्चनपुरमा वर्षाको सम्भावना रहेको जानकारी गराएपछि किसानहरू थप सचेत बनेका छन्।
“पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भयो, अर्कोतर्फ बाढीबाट हुने क्षति कम भएको छ,” पन्तले भने।
उनका अनुसार केही वर्षअघिसम्म काटिसकेको धान खेतमै डुब्ने तथा वर्षाका कारण बालीमा क्षति पुग्ने समस्या हुने गरेको थियो। अहिले समयमै मौसमको जानकारी प्राप्त भएपछि धान काट्ने र भित्र्याउने काम मौसमअनुकूल गर्न सकिएको उनले बताए।
“केही वर्षअघिसम्म काटेको धान खेतमै डुब्थ्यो, अहिले त्यो समस्या झेल्नु परेको छैन,” उनले भने। यद्यपि सामाजिक सञ्जालमा फैलिने मौसमसम्बन्धी अपुष्ट सूचनाका कारण भने किसान अन्योलमा पर्ने गरेको उनको भनाइ छ। आधिकारिक निकायबाट प्राप्त हुने मौसम पूर्वानुमानलाई मात्र आधार बनाउनुपर्नेमा उनले जोड दिए।
कञ्चनपुरमा ठूलो क्षेत्रफलमा धान तथा गहुँखेती हुँदै आएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाको कुल एक लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य रहेको छ।
त्यसमध्ये ४८ हजार ४९६ हेक्टरमा धानखेती हुने गरेको छ। यस्तै, जिल्लामा ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कृषि क्षेत्रमा मौसमको प्रत्यक्ष प्रभाव पर्ने भएकाले समयमै प्राप्त हुने पूर्वसूचना किसानका लागि महत्वपूर्ण बन्दै गएको छ। विशेषगरी धान भित्र्याउने समय, वर्षा, बाढी तथा अन्य मौसमी जोखिमबारे पूर्वजानकारी पाएपछि किसानले आफ्नो कामको समय मिलाउन सक्ने भएका छन्।
कञ्चनपुरका किसानले मौसम पूर्वानुमानलाई खेतीपातीको नियमित निर्णय प्रक्रियासँग जोड्न थालेपछि बालीमा हुने सम्भावित क्षति न्यूनीकरणमा समेत सहयोग पुगेको देखिएको छ। आधिकारिक मौसम सूचना किसानसम्म समयमै पुर्याउने र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचनाबाट सावधान गराउने कामलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता भने कायमै रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया