देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

155 Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ।

बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो रहने सम्भावना छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी बुधबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।